चितवन । चितवनमा एक १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभन देखाएर यौनजन्य दुव्र्यवहार तथा अनलाइनमार्फत अश्लील सन्देश पठाएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बालबालिकाविरुद्धको कसुरमा चितवनको खैरहनी नगरपालिका वडा नं. १० बस्ने ३५ वर्षीय विकास कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। श्रेष्ठ खैरहनी नगरपालिकामा सञ्चालित ‘होटेल नमस्ते मिलिजुली खाजा घर’ का सञ्चालक हुन्।
प्रहरीद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्ति अनुसार गत असार ११ गते उक्त होटलमा काम गर्ने १७ वर्षीया बालिका (पीडित) लाई सञ्चालक श्रेष्ठले होटलकै कोठामा बोलाएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए। त्यस बापत उनले ५० हजार रुपैयाँ दिने भन्दै विभिन्न लोभ प्रलोभन देखाएका थिए।
बालिकाले उक्त प्रस्ताव अस्वीकार गर्दा समेत सञ्चालक श्रेष्ठले यौनजन्य मनसायले पीडितको शरीरको संवेदनशील अङ्गमा छोएर दुव्र्यवहार गरेका थिए। यति मात्र नभई, श्रेष्ठले बालिकाले प्रयोग गर्ने ह्वाट्सएप र इन्स्टाग्राममा आफ्नो अकाउन्टबाट निरन्तर अश्लील शब्दहरू लेखी सन्देश पठाउने तथा अश्लील भिडियोहरू समेत पठाएर मानसिक सास्ती दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडित बालिकामाथि भएको यस दुव्र्यवहारको घटनाबारे असार २७ गते जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय खैरहनीमा आधिकारिक जानकारी प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ तत्काल एक्सनमा उत्रिएको प्रहरी टोलीले होटल सञ्चालक विकास कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवले जानकारी दिनुभयो। पक्राउ परेका श्रेष्ठमाथि बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।