काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याएपछि राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारको कामकारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार झापाबाट काठमाडौं आएका प्रसाईँले विमानस्थलमा समसामयिक राष्ट्रिय विषयमा सम्बोधन गर्ने तयारी गरेका थिए। तर सुरक्षा व्यवस्थापनका कारण प्रहरीले उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएर निवाससम्म पुर्याएको थियो। घर पुगेपछि आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाए। सर्वहारा वर्ग, घरबारविहीन नागरिक तथा आत्मदाहजस्ता घटनाले देश गम्भीर संकटतर्फ उन्मुख भइरहेको उनको भनाइ थियो।
उनले पछिल्ला ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमिततालाई प्रश्रय दिएको आरोप लगाउँदै जनताले परिवर्तनको अपेक्षासहित वर्तमान सरकारलाई समर्थन गरे पनि त्यसअनुसार परिणाम नआएको दाबी गरे। सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति पनि उनले असन्तुष्टि जनाउँदै त्यसले विपन्न नागरिकको जीवन झन् कष्टकर बनेको टिप्पणी गरे। पूर्वाधार विकास नगरी सवारीसाधनमा अत्यधिक जरिवाना लगाउने सरकारी नीति पनि व्यवहारिक नभएको उनको भनाइ थियो।
आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई राहत तथा अन्य सुविधा उपलब्ध गराउने सरकारी घोषणाप्रति प्रश्न उठाउँदै प्रसाईँले नागरिकले यस्तो दुःखद अवस्था भोगेपछि मात्र राज्यको ध्यान पुग्नु उचित नभएको बताए। देशमा आत्महत्याका घटनामा वृद्धि भइरहेको दाबी गर्दै उनले त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाए। प्रसाईँले यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन’भन्दै वर्तमान सरकारले आमनागरिकका आधारभूत समस्या समाधान गर्न नसकेको टिप्पणी गरे।