काठमाडौँ । केही दिनदेखि जारी अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका सुकुमवासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अविरल वर्षा र बाढीको उच्च जोखिमका कारण कीर्तिपुरबाट ३१ परिवारका कुल ८९ जना सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो। विपद व्यवस्थापन टोली र स्थानीय प्रशासनको सक्रियतामा हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर दुई चरणमा उनीहरूलाई खरिपाटी पु¥याइएको छ।
कीर्तिपुरमा बाढी र डुबानको समस्या बढेपछि सबै नागरिकलाई एकै ठाउँमा व्यवस्थापन गर्न कठिनाइ भएपछि केही परिवारलाई भने भक्तपुरकै बोडेस्थित सुरक्षित आश्रयस्थलमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ। वर्षायाममा हुन सक्ने थप मानवीय क्षति र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यो आपत्कालीन कदम चालेको हो।
सरकार र काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा नदी किनार सफाइ अभियान अन्तर्गत थापाथली लगायतका बागमती नदी किनारका सुकुमवासी बस्तीहरू बलपूर्वक हटाइएको थियो। नदी किनारबाट उठिबास गराइएका ती नागरिकहरूलाई अस्थायी रूपमा कीर्तिपुरको राधास्वामी भवनमा राखिएको थियो।
तर, वर्षायामको सुरुवातसँगै उक्त अस्थायी आश्रयस्थलसमेत डुबानमा परेपछि सुकुमवासीहरूको अवस्था झनै दयनीय र कष्टकर बनेको छ। राज्यले एक ठाउँबाट हटाएर अर्को अस्थायी ठाउँमा सार्ने (होल्डिङ सेन्टरमा घुमाउने) चक्र मात्र चलाएको तर उनीहरूको स्थायी बसोबास र वैकल्पिक व्यवस्थापनको सवालमा अझैसम्म कुनै ठोस र दीर्घकालीन कदम चाल्न नसकेको भन्दै अधिकारवादीहरूले सरकारको आलोचना गरेका छन्।
वर्षाको समयमा बारम्बार बासस्थान सर्नुपर्ने बाध्यताका कारण विशेष गरी सुकुमवासी बस्तीका बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाहरू बढी मर्कामा परेका छन्।