काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन तथा नियमको ठाडो उल्लंघन गर्ने म्यानपावर कम्पनीहरूमाथि कडा कारबाही सुरु गरेको छ। विभागको पूर्वअनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थाहरू कारबाहीमा परेका छन्।
यसका साथै, विभागले मागेको कामदारहरूको आवश्यक विवरण नबुझाउने थप ४३४ वटा म्यानपावर कम्पनीलाई पहिलो पटक सचेत गराएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन र सूचनाअनुसार, गत २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारहरूको उडान विवरण माग गरिएको थियो। नेपालमा हाल सञ्चालनमा रहेका कुल १ हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विभागमा विवरण बुझाएका थिए।
ती बुझाइएका विवरणहरूको सुक्ष्म अध्ययन गर्दा १५९ वटा कम्पनीले विभागको कुनै स्वीकृति नलिई विदेशी भारतीय विमानस्थल प्रयोग गरी कामदार पठाएको तथ्य फेला परेको हो। वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था छ। विशेष परिस्थितिमा बाहेक विदेशी विमानस्थल प्रयोग गर्न पाइँदैन। उक्त कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै विभागले ती १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको छ।
यस्तै, माग गरिएको विवरण नै उपलब्ध नगराउने ४३४ म्यानपावर कम्पनीलाई ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराई पुनः विवरण पेस गर्न कडा निर्देशन दिएको छ।
पटक–पटक ऐन, नियम तथा विभागको निर्देशनलाई बेवास्ता गर्दै आएका ८ वटा म्यानपावर कम्पनीलाई विभागले जनही ५० हजार रुपैयाँका दरले आर्थिक जरिवानासमेत गरेको छ। बिनाअनुमति भारतबाट उडान गराउने तथा विवरण नपठाउने ग्रान्ड सुइट जब, मास ह्युमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, ण्एलाइड इन्टरनेसनल म्यानपावर र अञ्जली ओभरसिज सर्भिस गरि ८ ओठा म्यानपावरलाई कारबाही गरिएकोे जनाएको छ ।
अनुमति नलिई भारत तथा अन्य विदेशी विमानस्थलमार्फत कामदार पठाउने प्रवृत्तिले नेपाली श्रमिकको सही अभिलेख व्यवस्थापन, उनीहरूको सुरक्षा तथा निगरानी प्रणालीमा गम्भीर असर पार्ने विभागको भनाइ छ। वैदेशिक रोजगार विभागले आगामी दिनमा कानुनी व्यवस्था कार्यान्वयन गराउन बजार तथा उडान अनुगमनलाई थप तीव्र र कडा बनाउने स्पष्ट पारेको छ।