काठमाडौं । इरानले आइतबार होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ । साथै, अनधिकृत मार्ग प्रयोग गरेको एउटा जहाजमाथि आक्रमण गरी रोकिएको जनाएको छ ।
इरानले उक्त घटनालाई लिएर कुनै पनि प्रतिकार भए त्यसको ‘कडा जवाफ’ दिइने चेतावनी पनि दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार समुद्री सुरक्षामा खतरा पुर्याउने गरी आफ्नो पहिचान तथा निगरानी प्रणाली बन्द गरेको एक जहाजमाथि प्रहार गरी रोकेको हो । यद्यपि, जहाजको परिचयबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
आईआरजीसीका अनुसार केही जहाजहरूले अनधिकृत मार्ग प्रयोग गर्दै जलडमरू पार गर्ने प्रयास गरेका थिए । ती जहाजलाई मार्ग परिवर्तन गर्न दिइएको चेतावनी बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा अमेरिकाको ‘हस्तक्षेप अन्त्य नभएसम्म’ र अर्को सूचना जारी नभएसम्म होर्मुज जलडमरू बन्द रहने उल्लेख गरिएको छ । इरानविरुद्ध हुने कुनै पनि आक्रामक गतिविधिको कडा जवाफ दिइने र क्षेत्रमा रहेका ‘शत्रुका नयाँ सैन्य आधार’लाई समेत निशाना बनाइने चेतावनी दिइएको छ ।
यसअघि शुक्रबार अमेरिकी उच्च अधिकारीहरूले इरानले जलडमरू जहाजमाथिका आक्रमण रोक्ने र कुनै शुल्क नलिई सबै समुद्री मार्ग खुला राख्ने सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने माग गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिका र इरानबीच तनाव बढे पनि वार्ता जारी राख्न सहमति भएको बताएका थिए । उनले यसअघि कायम गरिएको युद्धविराम समाप्त भएको घोषणा पनि गरेका थिए ।