काठमाडौं । बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने बताएकी छ्न् ।
करिब दुई वर्षपछि पहिलोपटक स्वदेश फर्कने योजना बनाएकी हसिनाले आफू यसवर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी हुन् ।
उनी हाल भारतमा बसिरहेकी छन् । पक्राउ पर्ने वा ज्यानै जाने जोखिम भए पनि आफू यसै वर्षको डिसेम्बरमा आफ्नै देश फर्कने उनले घोषणा गरिकी हुन् ।
‘जब म फर्किन्छु, मलाई पक्राउ गर्न सकिन्छ । मेरो हत्या पनि हुन सक्छ । तर, म फर्कनेछु,’ समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनिन्, ‘मेरो पार्टीका नेता–कार्यकर्तामाथि लगातार कारबाही भइरहेको छ । यदि, मर्नु नै छ भने, आफ्नै देशको माटोमा मर्न चाहन्छु, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् ।’
हसिनाले आफू एक्लै नफर्कने बताउँदै भारत तथा अन्य देशमा रहेका अवामी लिगका धेरै वरिष्ठ नेताहरू पनि बंगलादेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने बताएकी हुन् । उनीहरूमध्ये पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल पनि रहेका छन् ।