रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा आज बिहान ट्रकको ठक्करबाट एक अबोध बालकको मृत्यु भएको छ। उमाकुण्ड गाउँपालिका–२, देउरालीस्थित भित्री सडकखण्डमा बा.प्र.०१–००६ ख ७७०८ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थानका स्थानीय बालकको ज्यान गएको हो।
प्रहरीका अनुसार देउराली बस्ने पस्मुरी तामाङका ४ वर्षीय छोरा नविन तामाङको ट्रकको ठक्करबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो। बालक बाटो वरपर खेलिरहेको वा बाटो काट्ने क्रममा तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ।
दुर्घटना लगत्तै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ तत्कालै खटिएको प्रहरी टोलीले बालकलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।