विराटनगर । लागुऔषध गाँजासहित प्रहरीबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक किशोरको शव उठाउने विषयलाई लिएर मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारी क्षेत्र आज दिउँसो तनावग्रस्त बनेको छ। प्रहरीका कारण किशोरको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीय बासिन्दाले शव उठाउन अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्दै लाठीचार्ज गरेको छ।
गत बुधबारदेखि बेपत्ता भएका भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादव आज (शुक्रबार) बिहान स्थानीय पोखरीमा मृत अवस्थामा फेला परेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लैजान खोज्दा आफन्त र आक्रोशित स्थानीयले बाटो छेकेर प्रदर्शन सुरु गरेका थिए।
प्रदर्शनकारीहरूले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कडा कारबाही हुनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव लैजान अस्विकार गरेका थिए। भीडले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै सडक अवरुद्ध गरेपछि भेडियारी क्षेत्र केही बेर निकै तनावपूर्ण बनेको थियो।
आफन्तहरूले माग पूरा नभएसम्म शव अस्पताल लैजान नदिने अडान नछोडेपछि प्रहरीले भीडलाई तितरबितर पार्न लाठीचार्ज गरेको हो। मोरङ प्रहरीका अनुसार बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई हटाइए लगत्तै शवलाई सुरक्षित रूपमा पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। प्रहरीको लाठीचार्जपछि प्रदर्शनकारीहरू तितरबितर भएका र अहिले सो क्षेत्रको सुरक्षा स्थिति सामान्य बनिसकेको प्रहरीले जनाएको छ।
गत बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले जाँच गर्न खोजेको थाहा पाएपछि चालक मञ्जितकुमार यादव मोटरसाइकल छाडेर भागेका थिए। सोही क्रममा उनी स्थानीय पोखरीमा हामफालेका थिए।
त्यस बखत मोटरसाइकलको पछाडि सवार ४१ वर्षीय भारतीय नागरिक शिवधर यादवलाई प्रहरीले ६ किलो १३० ग्राम गाँजासहित रङ्गेहात पक्राउ गरिसकेको छ भने पोखरीमा बेपत्ता भएका मञ्जितको शव दुई दिनपछि आज मात्रै फेला परेको हो। प्रहरीले लागुऔषध तस्करी र किशोरको मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।