काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भावुक बनेर जवाफ दिएका गृहमन्त्री सुधन गुरुङको एक अभिव्यक्तिलाई लिएर संसद्मा नियमापत्ति गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले गृहमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादाविपरीत र गैरजिम्मेवार रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन ।
गणेश नेपालीको आत्मदाह प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले प्रयोग गरेका केही शब्दप्रति नेकपाले कडा आपत्ति जनाएको छ। सदनमा नियमापत्ति जनाउँदै नेकपा सांसद गोपाल शर्माले संसद् र सांसदहरूको क्षेत्राधिकार एवं मर्यादामाथि सरकारले अपमान गर्न नमिल्ने तर्क गरेका हुन ।
सदनमा आक्रोश पोख्दै शर्माले भने, “सदनले सरकारलाई सदनमै खोज्ने हो र सांसदहरूले सदनमै सरकारलाई प्रश्न गर्ने हो। सरकारले संसद्लाई जवाफ र जानकारी दिने हो, त्यो उसको प्रमुख जिम्मेवारी हो। तर, सदनमा सांसदहरूले उठाएको गम्भीर विषयलाई गृहमन्त्रीले ’घाँटी सुक्ने गरी चिच्च्याएको’ भनेर टिप्पणी गर्न मिल्दैन।”
उनले गृहमन्त्रीको यस्तो गैरजिम्मेवार र हलुका अभिव्यक्तिले सिङ्गो संसद् र जनप्रतिनिधिहरूको अपमान भएको दाबी गरे। सांसद शर्माले मन्त्रीको उक्त अमर्यादित शब्दावलीलाई संसद्को आधिकारिक रेकर्ड बाट तत्काल हटाउन सभामुखसँग जोडदार माग गरेका छन् ।
साथै, उनले आगामी दिनमा सरकारका मन्त्री तथा प्रतिनिधिहरूलाई संसद्मा जिम्मेवारीपूर्वक प्रस्तुत हुन र जनताका प्रतिनिधिहरूले सोधेका प्रश्नहरूलाई गम्भीरताका साथ लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।