काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गतेबाट राहदानी प्रणाली लाइभ गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
“नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेका छन्,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “राहदानीको प्रणाली हाल परिवर्तन भई यही २०८३ असार २९ बाट लाइभ हुने तय भएको छ ।”
लाइभ गर्ने तयारी मन्त्रालय र विभागबाट करीब पूरा भएको उनले जनाए । तत्पश्चात् केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको उनले बताए ।
राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो एवम् प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा केही महत्त्वपूर्ण कदम चालिएको उनले जनाए ।
“छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पुर्याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा २०८३ असार १९ गते एक सम्झौता पनि सम्पन्न भएको र सोही दिनबाट उक्त सम्झौता लागू भएको छ,” प्रवक्ता क्षेत्रीले भने ।
जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाको लागि हाल आवश्यक प्रक्रिया सुरु गरिसकिएको समेत उनले जनाए ।
“जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयहरूबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्थाका लागि काम भइरहेको छ,” प्रवक्ता क्षेत्रीले स्पष्ट पारे ।