काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एउटा अप्रत्याशित र भावुक दृश्य देखिएको छ। राहदानी विभाग अगाडि मुगुका युवा गणेश नेपालीले गरेको आत्मदाह र उनको दुःखद निधनको विषयमा संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रोस्ट्रम पुगेका गृहमन्त्री सुधन गुरुङ एकाएक भावुक बनेका हुन्।
सदनमा विशेष समय लिएर जवाफ दिनका लागि रोस्ट्रममा उभिएका गृहमन्त्री गुरुङ बोल्दाबोल्दै एकाएक अवाक (मौन) बनेका थिए। घटनाको संवेदनशीलता र युवाको मृत्युको विषयले उनी यति भावुक बने कि केही बेर उनी संसद्मा बोल्नै सकेनन्।
गृहमन्त्री गुरुङ रोस्ट्रममा उभिएर पनि भावुकताका कारण बोल्न नसकी फिर्ता भएपछि संसद् भवनभित्र केही समय अन्यौल र सन्नाटा छाएको थियो। मन्त्री रोस्ट्रमबाट फर्किएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले तत्कालै संसद् सचिवालयका कर्मचारीहरूसँग समन्वय र परामर्श गरेका थिए ।
रोस्ट्रममा गला अवरुद्ध भएपछि गृहमन्त्री गुरुङ केही समयका लागि बैठक कक्षबाट बाहिर निस्किएका थिए। बाहिर गएर आफूलाई केही सम्हालेपछि उनी पुनः बैठक कक्षमा फर्किएर रोस्ट्रममा उक्लिए र बोल्न सुरु गरे।