काठमाडौँ । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको मृत्युको विषयलाई लिएर सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेको छ।
संसद्मा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आवाज उठाएका थिए। सोही मागको सम्बोधन गर्दै सरकारले नेपाल प्रहरीका गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको हो।
प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्न र आक्रोशको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले छानबिन टोली गठन गरिएको विषयमा संसद्मा जानकारी दिएका छन् । गृहमन्त्री गुरुङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो घटनाको गहिराइसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।
सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले “युवाको शरीर आगोमा दन्किँदा समेत राज्यले एम्बुलेन्स नपठाई अपराधी जस्तै घिसारेको“ भनी लगाएको गम्भीर आरोपको गृहमन्त्रीले खण्डन गरेका हुन । गृहमन्त्री गुरुङले घटनालगत्तै राज्यका संयन्त्रहरू उद्धारमा सक्रिय भएको दाबी गर्दै गर्दै, “सरकारले गणेश नेपालीलाई बचाउनका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गरेको थियो। तत्कालै उद्धार गरी वीर अस्पताल पु¥याएर विशेषज्ञ टोलीको निगरानीमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको हो। थप उपचारका लागि दिल्ली लैजाने प्रयाससमेत गरिएको थियो, तर स्वास्थ्य अवस्था स्थिर नहुँदा त्यो सम्भव भएन।“
सरकारले गठन गरेको ५ सदस्यीय यो छानबिन टोलीले गणेश नेपालीले आत्मदाह गर्नुको भित्री कारण, घटनास्थलको परिस्थिति र त्यस वरपरका घटनाक्रमको सुक्ष्म अध्ययन गरी छिट्टै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएको छ।