काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनको घटनाबारे सरकारले निष्पक्ष र गहिरो छानबिन गर्नुपर्ने बताएका छन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारले न्याय पाउने वातावरण बनाउन उनले सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खरेलले गणेश नेपालीको निधनले आफूहरूलाई गहिरो दुःखी बनाएको भन्दै दिवंगतप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घटनालाई सरकारले सामान्य रूपमा नलिई यसको वास्तविक कारण पत्ता लगाउन आवश्यक रहेको बताए। उनले सरकारले घटनाको सबै पक्षमा अनुसन्धान गरी कसैमाथि अन्याय हुन नदिने विश्वास व्यक्त गर्दै पीडित परिवारले न्याय पाउने सुनिश्चितता गर्नुपर्ने धारणा राखे। सांसद खरेलले नेपालमा बढ्दो आत्महत्याका घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार हरेक दिन औसत १८ जनाले विभिन्न माध्यमबाट आत्महत्या गर्ने गरेको अवस्था अत्यन्त दुःखद रहेको भन्दै यसलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिनुपर्ने बताए।
उनले आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यसम्बन्धी नीति, कानुन, सेवा र पूर्वाधारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। मानसिक स्वास्थ्य समस्या नेपालमा गम्भीर चुनौतीका रूपमा देखा परिरहेको उल्लेख गर्दै उनले उपलब्ध तथ्यांकअनुसार वार्षिक करिब ७ हजार जनाले आत्महत्या गर्ने गरेको र ठूलो संख्यामा नेपाली नागरिक जीवनको कुनै न कुनै चरणमा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने गरेको बताए। खरेलले मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई केवल छलफलमा सीमित नराखी प्रभावकारी नीति, उपचार सेवा र जनचेतनामूलक कार्यक्रमसँग जोडेर अघि बढाउन सरकारलाई आग्रह गरे।