काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्की आत्मदाह गरेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको मृत्युको विषयलाई लिएर संसद्मा उच्चस्तरीय छानबिन समिति गठनको माग उठेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले छानविन समिति गठन गर्न माग गरेका छन् ।
सांसद परियारले संसद्मा बोल्दै गणेश नेपालीको आत्मदाह र दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले प्रसिद्ध कवि भूपि शेरचनको कविताका हरफहरू स्मरण गर्दै देशमा युवाहरूले भोग्नुपरेको चरम निराशा र बाध्यताको तस्बिर सदनमा प्रस्तुत गरेका हुन ।
“मरेर सहिद हुनेहरू जिएर त हेर, जिउन झन् कति गाह्रो छ,“ कविता उल्लेख गर्दै सांसद परियारले भन्नुभयो, “यो अत्यन्तै कारुणिक र गम्भीर घटना हो। यो घटनाको सत्यतथ्य पत्ता लगाउन राज्यले तत्कालै एक उच्चस्तरीय छानबिन समिति गठन गरोस्।”
रास्वपा सांसद परियारले गणेश नेपालीको निधनले सिङ्गो सदन स्तब्ध भएको बताउँदै मृतकका शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले केवल छानबिन मात्र नभई पीडित परिवारको आर्थिक अवस्था र आश्रितहरूको भविष्यलाई मध्यनजर गर्दै सरकारले तत्काल राहत, परिपूरण र भरणपोषणको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
त्रिपुरेश्वरमा घटेको यो आत्मदाहको घटनालाई लिएर शुक्रबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षका अन्य सांसदहरूले समेत सरकारको कार्यशैली र नागरिक सुरक्षाको विषयमा प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन्