काठमाडौँ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु घटनाप्रति सरकार जिम्मेवार रहेको बताएका छन्। उनले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने अवस्था सिर्जना हुनु राज्यको गम्भीर असफलता भएको टिप्पणी गरे।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको जानकारी दिए। अस्पतालको वातावरण अत्यन्त पीडादायी र भावविह्वल रहेको उल्लेख गर्दै त्यहाँको दृश्य सामान्य नागरिकका लागि समेत सहन कठिन भएको उनले बताए। उपचारका क्रममा गणेश नेपालीको निधन भएको उल्लेख गर्दै महरले मृतकका परिवारलाई सहज रूपमा भेट्न नदिइएको र हालसम्म शवसमेत जिम्मा नदिइएको भन्दै असन्तुष्टि जनाए। अस्पताल परिसरमा अत्यधिक सुरक्षा व्यवस्था गरिएको विषयप्रति पनि उनले आपत्ति व्यक्त गरे।
उनले सरकारले संवेदनशील घटनालाई समेत ‘स्टन्ट’को रूपमा प्रस्तुत गर्ने प्रवृत्ति त्याग्नुपर्ने धारणा राखे। राज्यको दायित्व नागरिकलाई सुरक्षित र आशावादी बनाउनु भए पनि पछिल्लो समय सरकारकै कारण निराशा र पीडा बढ्दै गएको उनको आरोप थियो। महरले नागरिकलाई आत्मदाहजस्तो दुःखद निर्णय लिनुपर्ने अवस्था आउनु लोकतान्त्रिक राज्यका लागि गम्भीर चिन्ताको विषय भएको भन्दै गणेश नेपालीको मृत्युको नैतिक र राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए।