काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीले उपचारका क्रममा दाइसँग गरेको अन्तिम संवाद सार्वजनिक भएको छ। उपचाररत अवस्थामा उनले पटक–पटक आफू निर्दोष रहेको बताएका थिए।
वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा मृतकका दाइ मदन नेपालीले गणेशसँग भएको अन्तिम भेटको अनुभव सुनाउँदै भाइले अन्तिम क्षणसम्म ‘दाइ, मेरो गल्ती थिएन’ भन्ने शब्द दोहोर्याएको बताए। मदनका अनुसार घटनाको अघिल्लो साँझ गणेश पत्नीसहित उनको कोठामा आएका थिए। गाउँबाट ल्याएको खसीको खुट्टा पकाइदिन आग्रह गरे पनि आफूले पछि बनाउने भन्दै त्यस दिन उनीहरूले सँगै खाना खाएर विश्राम गरेका थिए। घटनाको बिहान भने बाइकको किस्ता बुझाउने समय नजिकिएकाले आफूले गणेशलाई पठाओ चलाउन जान सुझाव दिएको उनले बताए। त्यसपछि गणेश मोटरसाइकल लिएर घरबाट निस्किएका थिए। दिउँसोसम्म पनि घर नफर्किएपछि चिन्तित बनेका मदनले करिब २:३० बजे प्रहरीबाट आएको फोनमार्फत भाइले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जानकारी पाएको बताए।
त्यसलगत्तै उनी वीर अस्पताल पुगेका थिए। अस्पतालमा भेट्दा गणेश बोल्न सक्ने अवस्थामा भए पनि निकै कमजोर रहेको उनले बताए। उनका अनुसार गणेशले ‘बाबा–आमाको राम्रो हेरचाह गर्नु’ भन्दै आग्रह गरेका थिए। त्यसपछि उनले दुई पटक ‘दाइ, मेरो गल्ती थिएन’ भनेर दोहोर्याएको मदनको भनाइ छ। मदनका अनुसार गणेशले ह्विल लक र त्यसपछि भएको घटनाबारे छोटकरीमा संकेत गर्दै आफूले कुनै गल्ती नगरेको बताएका थिए। त्यसपछि उनको बोल्ने शक्ति क्रमशः कमजोर हुँदै गएको थियो। गम्भीर रूपमा जलेका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।