काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्रिपुरेश्वरमा भएको आत्मदाहको घटना र सुकुम्बासी उठिबासको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमाथि संसद्मा कडा प्रहार गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक बासना थापाले “राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो?“ भन्दै प्रधानमन्त्रीलाई सिधा प्रश्न गरेकी छन् ।
बिहीबार राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनालाई लिएर प्रमुख सचेतक थापाले सरकारको अमानवीय कार्यशैलीको तीव्र आलोचना गरे ।
सदनमा आक्रोश पोख्दै उनले, “राज्य आतङ्कका कारण एक युवाले आगो सल्काउँदासमेत राज्य मुकदर्शक बन्यो। युवाको शरीर आगोमा दन्किरहेको बेला राज्यले एम्बुलेन्ससमेत पठाएन। बरु प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लगियो। यो उद्धार हो कि गिरफ्तारी हो सरकार? के ऊ देशद्रोही हो? उसले कसको विरुद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि ऊ यो देशमा जन्मियो र यही देशमा केही गर्न खोज्यो।” बताईन् ।
थापाले वर्तमान सरकार जनताको ज्यान जोगाउने र नागरिकका समस्या सुन्नेभन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर सामाजिक सञ्जालमा ’लाइक’ बढाउने ध्याउन्नमा मात्रै लागेको गम्भीर आरोप समेत लगाईन् ।
सांसद थापाले काठमाडौँमा भइरहेको सुकुम्बासी उठिबास र डोजर आतङ्कका कारण नागरिकहरू आत्महत्याको बाटो रोज्न बाध्य भइरहेको भन्दै सरकारको ध्यानाकृष्ट गराएकी हुन् । उनले केही समयअघि सुकुम्बासी बस्तीबाट उठिबास लगाइएका १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको विषय उठान गरेकी हुन । त्यस्तै, बिहीबार मात्रै रातोपुल नजिकै धोबीखोलामा हाम फालेर एक महिलाले मृत्युवरण गरेको समाचार आएको छ, जसको अझै पहिचान हुन बाँकी छ।
सम्बोधनको अन्त्यमा प्रमुख सचेतक थापाले प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’ को कार्यशैलीमाथि कटाक्ष गर्दै अब स्टन्ट छोडेर नागरिकको जीवन रक्षामा लाग्न चेतावनी दिए ।
“प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो? अब आँखाको कालो चस्मा खोल्ने बेला आएको छ,“ उहाँले भन्नुभयो, “साझा यातायातको हरियो रङलाई पोतेर वा बजारमा डोजर चलाएर मात्रै नागरिकले सुरक्षाको महसुस गर्न सक्दैनन्। सरकार तुरुन्त उत्तरदायी बनोस्।”