काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गराइरहेका नेपालीको आज (शुक्रबार) बिहान ११ः२० बजे निधन भएको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले उनको निधन भएको बताएका छन् ।
हिजो (बिहीबार) आत्मदाह प्रयासको लगत्तै उद्धार गरी उनलाई वीर अस्पताल पु¥याइएको थियो। उनको शरीरको करिब ५५ देखि ६० प्रतिशत भाग जलेको र अनुहार, घाँटी एवं छातीमा गम्भीर चोट लागेका कारण अवस्था सुरुदेखि नै अत्यन्तै नाजुक थियो।
आज बिहान मात्रै वीर अस्पतालले पत्रकार सम्मेलन गरी उनको अवस्था स्थिर नरहेको र कुनै पनि समयमा स्वास्थ्य थप बिग्रन सक्ने जानकारी गराएको थियो। स्वास्थ्यमा सुधार नआएका कारण उनलाई थप उपचारका लागि हवाई मार्ग (एयर एम्बुलेन्स) मार्फत भारतको नयाँ दिल्ली लैजाने तयारी समेत असफल भएको थियो। अन्ततः चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको बताइएको छ ।
मुगु घर भएका २५ वर्षीय यी युवाले राहदानी विभाग जस्तो संवेदनशील सरकारी निकायको गेटमै पुगेर किन यति आत्मघाती र कठोर कदम चाले भन्ने कारण अझै खुल्न सकेको छैन। काठमाडौँ प्रहरीले उनको पारिवारिक पृष्ठभूमि, वैदेशिक रोजगारीको प्रयास वा अन्य कुनै मानसिक तथा आर्थिक तनावका विषयमा केन्द्रित रहेर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
मृतक नेपालीको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) महाराजगन्ज लैजाने तयारी भइरहेको छ।