काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट डिपार्टमेन्ट) अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको छ।
वीर अस्पतालको ‘बर्न सेन्टर’ मा विशेषज्ञ चिकित्सकहरूको टोली उनको उपचारमा २४ सै घण्टा खटिएको भए पनि उनको अवस्था कुनै पनि समयमा थप बिग्रन सक्ने अस्पतालले चेतावनी दिएको छ। अस्पतालले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गरी उनको पछिल्लो स्वास्थ्य स्थितिबारे आधिकारिक जानकारी गराएको हो।
वीर अस्पतालका अनुसार गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हिजो प्राथमिक उपचारपछि आईसीयूमा सार्ने तयारी गरिएका उनलाई श्वासप्रश्वास र भित्री अङ्गहरूमा थप जटिलता देखिएपछि हाल मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्वतालले जनाएको छ।
अस्पतालका विशेषज्ञ डाक्टरहरूका अनुसार अहिले नै उनको स्वास्थ्यबारे ठोस रूपमा केही भन्न सकिने अवस्था छैन। उनलाई बचाउनका लागि विभिन्न जीवनरक्षक औषधिहरू (लाइफ सपोर्टिङ ड्रग्स) निरन्तर दिइरहेको अस्पतालले जनाएको छ।
गणेशको गम्भीर अवस्थालाई मध्यनजर गर्दै थप उच्चस्तरीय उपचारका लागि भारतको नयाँ दिल्लीस्थित विशेषज्ञ अस्पतालमा लैजाने तयारी गरिएको थियो। तर, उनको स्वास्थ्य अवस्था स्थिर (स्टेबल) नभएका कारण तत्काल दिल्ली लैजान सम्भव नभएको चिकित्सकहरूले बताएका छन्।
अस्पताल प्रशासनका अनुसार गणेशको रक्तचाप (ब्लड प्रेसर) अत्यधिक रहेको र यो अवस्थामा भेन्टिलेटरकै सहारामा हवाई मार्ग (एयर एम्बुलेन्स) बाट भारत लैजाँदा बाटोमै स्वास्थ्य झन् बिग्रने र ज्यानकै जोखिम हुने उच्च सम्भावना छ। त्यसैले, उनको स्वास्थ्य अवस्थामा केही सुधार नआएसम्म वा अवस्था स्थिर नभएसम्म नेपालमै राखेर उपचार गरिने वीर अस्पतालले स्पष्ट पारेको छ।
युवाले राहदानी विभाग जस्तो संवेदनशील ठाउँको गेटमै पुगेर किन आत्मदाहको बाटो रोजे भन्नेबारे प्रहरीले मुगुमा रहेका उनका परिवार र काठमाडौँका साथीभाइहरूसँग सोधपुछ गरी अनुसन्धानलाई अगाडि बढाएको छ।