काठमाडौँ । काठमाडौँको रातोपुलस्थित धोबीखोलामा हामफालेकी एक अज्ञात महिला मृत अवस्थामा फेला परेकी छिन्। रातोपुलबाट खोलामा हामफालेकी उनलाई बगाएर बल्खु पु¥याएको अवस्थामा फेला पारिएको हो। बल्खुको कुमारी क्लब नजिकै रहेको बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीहरूले महिलाले खोलामा हामफालेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली खोजी कार्यका लागि तीव्र रूपमा परिचालन भएको थियो। तर, वर्षातका कारण खोलामा पानीको बहाव उच्च र तीव्र भएकाले उनलाई जीवितै उद्धार गर्न सकिएन र बगाएर बल्खु पु¥यायो।
प्रहरीका अनुसार मृत फेला परेकी महिलाको पहिचान (नाम, ठेगाना) अझै खुलिसकेको छैन। उनको उमेर अन्दाजी ३५ वर्ष आसपास हुन सक्ने अनुमान गरिएको छ।
ती महिलाले के–कति कारणले खोलामा हामफालेर आत्मत्याको बाटो रोजिन् भन्ने विषय पनि अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ भने घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान सुरु गरिएको काठमाडौँ परिसरले जनाएको छ।