काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक गतिविधिमा महत्वपूर्ण हिस्सा ओगट्ने निर्माण क्षेत्रका समस्या समाधानका लागि चासो देखाएका छन् ।
मौद्रिक नीति सार्वजनिक भएलगत्तै बुधबार निजी क्षेत्रका तीन ठूला व्यावसायिक संगठनहरूसँग छलफल गरेका प्रधानमन्त्री बालेनले बिहीबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का प्रतिनिधिहरूसँग विशेष छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले निर्माण व्यवसायीसँगको भेटवार्ताका क्रममा निर्माण क्षेत्रमा देखिएका प्राविधिक, व्यावहारिक तथा भुक्तानीका समस्याहरू सुल्झाउन सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
छलफलका क्रममा निर्माण व्यवसायीहरूले अन्तर्राष्ट्रिय भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले काम अघि बढाउन कठिन भएको गुनासो राखेका थिए । उनीहरूले बढ्दो महँगीलाई ध्यानमा राख्दै सरकारी सार्वजनिक ठेक्काहरूको पनि मूल्य समायोजन गरिनुपर्ने माग गरेका थिए ।
महासंघका प्रतिनिधिहरूका अनुसार प्रधानमन्त्रीले मूल्य समायोजनका लागि व्यवसायीहरूलाई स्पष्ट दर प्रस्ताव गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको यो कदम र सरकारको आश्वासनबाट आफूहरू निकै उत्साहित भएको र भेट अत्यन्त फलदायी रहेको व्यवसायीहरूले बताएका छन्।
प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे । साथै, उनीहरूलाई निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न आग्रह गरे ।