काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट डिपार्टमेन्ट) को तीन नम्बर गेट अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय युवा गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर र चिन्ताजनक रहेको छ।
आत्मदाह प्रयासको लगत्तै उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पु¥याइएको थियो। हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचार गरी थप उपचारका लागि सघन उपचार कक्ष (आईसीयू) मा राख्ने तयारी भइरहेको छ।
उपचारमा संलग्न वीर अस्पतालका प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार गणेशको शरीरको धेरै भाग जलेका कारण अवस्था संकटपूर्ण बनेको हो। प्रारम्भिक अनुमान अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।
डा. दाहालका अनुसार बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन (बर्न) भएको छ। आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा विभिन्न परीक्षणको प्रक्रिया पूरा गरिँदै छ। एनेस्थेसियाको टोलीसँग समन्वय गरी उनलाई तुरुन्तै आईसीयूमा सार्न लागिएको हो।
डा. पीयूष दाहालले भने, “उहाँको अवस्था अहिले निकै गम्भीर छ। अहिले आकस्मिक उपचारका सबै प्रक्रिया पूरा गरेर आईसीयूमा सार्ने तयारी गरिरहेका छौँ। बिरामीले अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था अझै संकटपूर्ण र क्रिटिकल नै छ। सबै औषधि सुरु गरिसकेका छौँ।”
चिकित्सकहरूका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीहरूमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा पानी तथा तरल पदार्थको कमी हुनुका साथै अन्य भित्री अंगहरूमा समेत असर पर्ने जोखिम उच्च रहन्छ। यस प्रकारको जलनमा सुरुको २४ देखि ७२ घण्टाको समयलाई अत्यन्त संवेदनशील मानिने भएकाले चिकित्सकहरूको विशेष निगरानीमा सघन उपचार सुरु गरिएको छ।
युवाले आत्मदाहको प्रयास गर्नुको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।