धनगढी । जेन्जी आन्दोलनको गलत फाइदा उठाई धनगढीबाट चोरी भएको सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको सरकारी गाडी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार चोरी भएको सरकारी स्कारपियो गाडीको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला पारिएको हो।
गत २०८२ साल भदौ २५ गते दिउँसोको समयमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित बाटोबाट ४÷५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले बा. २ झ. २८५९ नम्बरको सरकारी स्कारपियो गाडी चोरी गरी लगेका थिए।
चोरी भएको उक्त गाडी खोजतलास गर्ने क्रममा प्रहरीले यही २०८३ साल असार ०८ गते कैलालीकै घोडाघोडी नगरपालिका वडा नं. ०२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योग भित्र लुकाएर राखिएको अवस्थामा फेला पारेको हो। फेला पार्दा गाडीको पहिचान लुकाउन त्यसको बाहिरी स्वरूप समेत परिवर्तन गरिएको पाइएको छ।
उक्त चोरी कार्यमा संलग्न रहेको आरोपमा फर्निचर उद्योगका सञ्चालक अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेका कार्कीमाथि चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।