काठमाडौँ । नितिमा भण्डारी ले सर्लाहीमा पछिल्लो समय शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिल्लामा आपराधिक गतिविधि बढ्दै जाँदा सर्वसाधारणले असुरक्षित महसुस गर्न थालेको बताइन्। सांसद भण्डारीले लालबन्दी नगरपालिका–७ बाट वडा नं. ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले लुटपाटको प्रयास गर्दै चार राउण्ड गोली प्रहार गरेको घटनाको उल्लेख गरिन्। प्रहरी चौकी नजिकै यस्तो घटना हुनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्ने विषय भएको उनको भनाइ थियो। उनले ईश्वरपुर नगरपालिका–३ मा रामनरेश साहकी श्रीमतीमाथि भएको कुटपिटको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।
जग्गामा विद्युत् पोल गाड्ने विषयमा अदालतले रोक लगाइसकेको अवस्थामा समेत जबरजस्ती काम अघि बढाउँदा विवाद चर्किएको र त्यसक्रममा कुटपिट भएको उनले बताइन्। भण्डारीले सर्लाहीमा गोली प्रहार, लुटपाट र कुटपिटजस्ता घटना सामान्य बन्दै गएको टिप्पणी गर्दै कानुन व्यवस्थाको अवस्था चिन्ताजनक बनेको धारणा राखिन्। शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले यस्ता घटना बारम्बार दोहोरिँदा पनि प्रभावकारी नियन्त्रण र कारबाही किन हुन नसकेको भन्दै गृहमन्त्रीसँग प्रश्न गरिन्। सांसद भण्डारीले अपराधमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउन, दोषीमाथि कडा कारबाही गर्न तथा सर्लाहीमा सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउँदै तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरिन्।