काठमाडौँ। अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्। उनले मेरिल्याण्डको डिस्ट्रिक्ट ७–ए अन्तर्गत हाउस अफ डेलिगेट्सका लागि भएको प्राथमिक चुनावमा सफलता हासिल गरेका हुन्।
जुन २३ मा सम्पन्न निर्वाचनको करिब ९९ प्रतिशत मतगणना सकिँदा चापागाईंले आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेका छन्। उनले कुल १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गरेका छन्। यस सफलतासँगै अब उनी आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्। चापागाईंले आफ्नो चुनावी अभियानमा सुलभ जीवनयापन, सुरक्षित समुदाय र सबल स्थानीय अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाएका छन्। उनले महँगी नियन्त्रण, सार्वजनिक सुरक्षाको सुदृढीकरण तथा स्थानीय व्यवसायको प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन्।
हाल उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्य कमिटीका निर्वाचित सदस्यसमेत हुन्। राजनीतिसँगै उनी सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्। उनी बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा दोभाषेका रूपमा कार्यरत रहनुका साथै विभिन्न सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। चापागाईंले श्रमिक, विपन्न वर्ग र समुदायका आवाजलाई नीतिनिर्माणमा स्थान दिलाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। साथै, सामाजिक न्याय, सार्वजनिक सहभागिता र व्यवहारिक समाधानमा केन्द्रित नेतृत्वको पक्षमा आफू उभिएको उनको भनाइ छ।
राजनीतिबाहेक उनी साहित्यिक क्षेत्रमा पनि सक्रिय छन्। उनले आफूलाई सम्पादक, कवि तथा गीतकारका रूपमा परिचित गराउँदै आएका छन्। साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा दुई कार्यकाल मिडिया कोअर्डिनेटरको जिम्मेवारी सम्हालिसकेका चापागाईं हाल संस्थाका सल्लाहकारका रूपमा आबद्ध छन्। अमेरिकाको स्थानीय राजनीतिमा नेपाली मूलका नागरिकको सहभागिता बढिरहेका बेला चापागाईंको विजयलाई नेपाली समुदायको प्रतिनिधित्व र प्रभाव विस्तारतर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।