काठमाडौँ। सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनाको अवधिमा ३०० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का अनुसार तीमध्ये अधिकांश बालबालिकाको मृत्यु ड्रोन आक्रमणका कारण भएको हो।
युनिसेफले सोमबार सार्वजनिक गरेको विवरणअनुसार युद्ध थप चर्किँदै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय संकटको सबैभन्दा ठूलो पीडित बनेका छन्। सन् २०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सुरु भएको द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल क्षेत्रमा केन्द्रित छ। पछिल्ला महिनाहरूमा ड्रोनमार्फत गरिने आक्रमण उल्लेखनीय रूपमा बढेको युनिसेफले जनाएको छ। संस्थाका अनुसार हाल भएका कुल हताहत घटनामध्ये करिब ६० प्रतिशत ड्रोन आक्रमणसँग सम्बन्धित छन्।
उत्तर कोर्डोफानको रणनीतिक महत्व बोकेको एल–ओबिड सहरको नियन्त्रणका लागि जारी भीषण भिडन्तका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लंघनबारे संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। युद्ध सुरु भएयता कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने झन्डै एक करोड ३० लाख नागरिक आफ्नो घरबार छाड्न बाध्य भएका छन्। द्वन्द्वका कारण देशका धेरै क्षेत्रमा खाद्य संकट गहिरिँदै गएको छ र तीन करोडभन्दा बढी मानिस मानवीय सहायतामै निर्भर छन्।
ड्रोन आक्रमण र गोलाबारीबाट विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र तथा खानेपानीका संरचनासमेत प्रभावित भएका छन्। यसका कारण पाँच लाखभन्दा बढी सर्वसाधारण प्रत्यक्ष जोखिममा रहेको युनिसेफले जनाएको छ। कतिपय क्षेत्रमा नागरिकहरूले एक वर्षभन्दा लामो समयदेखि घेराबन्दीजस्तै कठिन परिस्थितिको सामना गरिरहेका छन्। सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा, विस्थापन र अभावको दुष्चक्रमा फसिरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। साथै, संयुक्त राष्ट्रसंघले द्वन्द्वरत पक्षलाई नागरिक तथा सार्वजनिक पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता अवरोधरहित रूपमा पुर्याउन र बालबालिकालाई थप क्षतिबाट जोगाउन आवश्यक सबै उपाय अपनाउन आह्वान गरेको छ।