काठमाडौं । थाइल्याण्डमा एक ११ वर्षीय बालकले चलाएकाे गाडी बौद्ध धार्मिक र्यालीमा जाेतिँदा कम्तीमा नौ जना भिक्षुहरूको मृत्यु भएको छ ।
स्थानीय उद्धार समूहले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा सुन्तला रंगको चीवर लगाएका भिक्षुहरू सडकमा लामबद्ध भएर हिँडिरहेको बेला उनीहरूमाथि ट्रक गुडेको देखिन्छ । फुटेजमा बिहीबार स्थानीय समय अनुसार बिहान ११ बजेभन्दा केही समय अघिको समय देखिएको छ।
यो घटना राजधानी बैंककबाट करिब ६५० किलोमिटर (४०० माइल) टाढा देशको उत्तर-पूर्वी सहर मुक्दाहानमा भएको हो । मुक्दाहान प्रान्तका गभर्नर वोरायान बुनारातका अनुसार ३४ जना बौद्ध भिक्षु र पाँच जना अनुयायीहरूको समूह त्यस प्रान्तको एक मन्दिरबाट छिमेकी प्रान्त उबोन रात्चाथानीको अर्को मन्दिरसम्मको तीर्थयात्रामा निस्किएको थियो ।
घटनास्थलका तस्बिरहरूमा घाइते मानिसहरू लडिरहेको र भिक्षुहरूका सामानहरू सडकभरि छरपस्ट भएको देखिन्छ । थाइल्याण्डमा बौद्ध भिक्षुहरूलाई निकै सम्मान गरिन्छ, जहाँ ९३ प्रतिशतभन्दा बढी जनसङ्ख्या यो धर्म मान्छन् ।
भिक्षुहरू प्रायः सार्वजनिक र्यालीहरू निकाल्छन् र सर्वसाधारणबाट दान-दक्षिणा ग्रहण गर्छन् । सार्वजनिक यातायातमा वृद्धवृद्धा र गर्भवती महिलाका साथै भिक्षुहरूका लागि पनि सिट छुट्ट्याउन भनिएका संकेत चिन्हहरू राखिएका हुन्छन् ।
बुनारातका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । मुक्दाहान प्रान्तीय कार्यालयले पछि नवौं भिक्षुको पनि मृत्यु भएको घोषणा गर्यो । कम्तीमा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ती बालकले अनुमतिबिना आफ्ना अभिभावकको पिकअप ट्रक लिएर निस्किएका थिए। करिब १० किलोमिटर (६ माइल) गाडी चलाएपछि उनले नियन्त्रण गुमाएर भिक्षुहरूलाई ठक्कर दिएका थिए ।