काठमाडौँ । रुसले युक्रेनको राजधानी कीभमा रातभर व्यापक मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणपछि राजधानीका विभिन्न क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि यो हमला भएको हो। कीभ सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेन्कोका अनुसार घाइते हुनेमध्ये बालबालिका पनि रहेका छन्। उनले रुसले जानाजानी आवासीय बस्तीलाई निशाना बनाएर सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाए।
यता, रुसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले गरेका आक्रमणको जवाफस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेको छ। बीबीसीका संवाददाताका अनुसार रातभर कीभमा लगातार शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो। स्थानीय समयअनुसार बिहान साढे तीन बजेसम्म कम्तीमा १० वटा ठूला विस्फोट भएका थिए। आक्रमणपछि सहरका विभिन्न स्थानमा आगलागी भएको, भवनहरू ध्वस्त भएको र सडकमा ठूला खाल्डा परेको देखिएको छ। आक्रमणका कारण एउटा होटल, आवासीय भवन तथा अन्य संरचनामा आगलागी भएको थियो। एउटा एम्बुलेन्स केन्द्रमा पनि क्षति पुगेको छ, जहाँ कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार हालसम्म ३४ जनाको सकुशल उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। संयुक्त राज्य अमेरिकाका लागि युक्रेनकी राजदूत ओल्हा स्टेफानिशिनाले सामाजिक सञ्जाल एक्समार्फत कीभका नागरिकले रातभर भूमिगत आश्रयस्थलमा बिताउन बाध्य भएको उल्लेख गर्दै आवासीय भवन र नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको बताएकी छन्। यो दुई साताभन्दा बढी समयपछि रुसले युक्रेनमाथि गरेको पहिलो ठूलो मिसाइल तथा ड्रोन आक्रमण हो। रुसले मध्य तथा पूर्वी युक्रेनका केही सैन्य अड्डामा पनि आक्रमण गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले हालै मस्कोदेखि काला सागरसम्मका ऊर्जा केन्द्रमा गरेको आक्रमणको प्रतिकारस्वरूप युक्रेनका रक्षा तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाइएको हो। यसअघि राष्ट्रपति जेलेन्स्कीले आयरल्यान्डको डब्लिन भ्रमण छोट्याउँदै रुसले ठूलो आक्रमणको तयारी गरिरहेको नयाँ गुप्तचर सूचना प्राप्त भएको बताएका थिए।
उनले नागरिकलाई सतर्क रहन र आफ्नो तथा परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। युक्रेनका अनुसार रुसी सेना हालै पूर्वी युक्रेनको रणनीतिक महत्वको सहर कोस्त्यान्टिनिभ्कातर्फ अघि बढेको छ। उक्त सहरमाथि नियन्त्रण कायम गर्न सके रुसलाई सम्पूर्ण डोनबास क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सहज हुने विश्वास गरिएको छ। यद्यपि युक्रेनी सेनाले यस वर्ष आफूहरूले गुमाएकोभन्दा बढी भूभाग पुनः आफ्नो नियन्त्रणमा ल्याएको दाबी गरेको छ। उनीहरूका अनुसार रुसी आपूर्ति मार्गमा समेत अवरोध सिर्जना गरिएको छ। सन् २०२२ को फागुनमा पूर्णस्तरको युद्ध सुरु भएयता रुसले हाल युक्रेनको करिब पाँचौं भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ।