काठमाडौं । अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिका दुबै फेरि आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन् ।
इरानको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडाहरुमा आक्रमण गरिएको जनाएको छ । आफ्नो देशको दक्षिणी तटमा भएको अमेरिको हवाई आक्रमणको जवाफमा प्रत्याक्रमण गरिएको इरानको दाबी छ । तर आक्रमण गरिएका स्थानबारे इरानले जानकारी दिएको छैन ।
बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञिप्तमा इरानले आफ्नो देशमा शनिबार बिहानै ड्रोन आक्रमण गरेको उल्लेख छ । बहराइनले यसलाई आफ्नो सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरेको छ ।
यसअघि शुक्रबार अमेरिकाले इरानमाथि आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमाण्डले सेनाले इरानका मिसाइल र ड्रोन स्थलहरूका साथै समुद्री तट क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ ।
बिहीबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा प्रत्याक्रमण गरिएको अमेरिकाको दाबी छ । दुई देशबीच अघिल्लो साता युद्ध अन्त्यका लागि अन्तरिम सम्झौतामा हस्ताक्षर भएयताकै यो सबैभन्दा ठूलो उल्लंघन हो ।
दुबै पक्षले एक अर्कामाथि उल्लंघनको दोष थोपरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमा इरानले गरेको आक्रमण शान्ति सम्झौताको उल्लंघन रहेको बताएका थिए ।
एक अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बताएअनुसार, अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जालमार्फत कारबाही घोषणा गरेको झन्डै एक घण्टासम्म आक्रमण चलेको थियो ।
गत साता अमेरिकासँग भएको अन्तरिम सम्झौता हर्मुज खुला गर्न दुबै पक्ष सहमत भएपनि इरानले हर्मुजमा आफ्नो नियन्त्रण कायमै राखेको छ । गत साता संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले हर्मुज जलक्षेत्रमा फसेका जहाजहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर बाहिर निकाल्ने अभियान थालेको थियो । यसअन्तर्गत जहाजहरू मुख्य मार्ग नभएर ओमानको तटीय क्षेत्र हुँदै अघि बढिरहेका थिए ।
आक्रमणपछि आईएमओले उद्धार कार्य स्थगित गरिएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आईएमओले जहाजहरूमाथि आक्रमण नहुने ग्यारेन्टी नभएसम्म अभियान पुनः सुरु नहुने स्पष्ट पारेको छ ।
अमेरिका र इरानबीच अझै पनि सम्झौताका सर्तहरूमाथि वार्ता चलिरहेको छ । हर्मुज पूर्ण रुपमा खुला गर्ने र इरानको उच्च संवर्धित युरेनियमको भण्डारको भविष्य विषय वार्ताका मुख्य मुद्दा हुन् । अन्तरिम सम्झौतामा ६० दिनभित्र सबै मुद्दाहरु टुंग्याउने उल्लेख छ ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्। ट्रम्पको यो चेतावनी अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य आक्रमणपछि आएको हो।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।