वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सरकारी संरक्षणमा रहेका ५ सयभन्दा बढी अभिभावकविहीन आप्रवासी बालबालिकालाई देशनिकाला गर्ने तयारी गरेको आरोप लागेको छ ।
डेमोक्रेटिक पार्टीका सिनेटर रन वाइडेनका अनुसार प्रशासनले अमेरिकाको दक्षिणी सीमाबाट एक्लै प्रवेश गरेका र हाल सरकारी संरक्षणमा रहेका ५०० भन्दा बढी बालबालिकालाई निष्कासनका लागि पहिचान गरेको छ ।
यसअघि पनि ट्रम्प प्रशासनले अमेरिकामा अभिभावक नभएका ग्वाटेमालाका बालबालिकालाई स्वदेश फर्काउने प्रयास गरेको थियो । तर उक्त कदमलाई सङ्घीय अदालतले रोकिदिएको थियो । वाइडेनका अनुसार अहिले फेरि त्यस्तै प्रक्रिया अघि बढाइएको छ । यसपटक कम्तीमा छ महिनादेखि सरकारी संरक्षणमा रहेका र अमेरिकामा आफन्त वा कानुनी अभिभावक नभएका बालबालिकालाई लक्षित गरिएको छ ।
उनले स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियरलाई पत्र लेख्दै यो कदमले सयौँ जोखिममा रहेका बालबालिकाको सुरक्षामाथि गम्भीर खतरा सिर्जना गर्ने बताएका छन् । वाइडेनले बालबालिकाको संरक्षण गर्ने जिम्मेवारी पाएको सरकारी निकायलाई नै उनीहरूलाई निष्कासन गर्ने माध्यम बनाउनु कार्यकारी अधिकारको दुरुपयोग भएको आरोप लगाएका छन् ।
साथै उनले बालबालिकाको पहिचान र निष्कासनसम्बन्धी सबै प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् । यद्यपि अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले भने ती बालबालिकालाई लक्षित गरी निष्कासन गर्ने कुनै योजना नरहेको जनाएको छ । विभागका प्रवक्ताले जो बाइडेन प्रशासनले पर्याप्त छानबिन नगरी बालबालिकालाई विभिन्न अभिभावक वा संरक्षकसँग पठाएको दाबी गर्दै ट्रम्प प्रशासनले उनीहरूलाई सुरक्षित र कानुनी संरक्षकसँग राख्न पहिचान प्रक्रिया अघि बढाएको बताएका छन् ।