काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन्।
स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार घाइतेमध्ये धेरैजसोको अवस्था सामान्य भए पनि केही गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ। उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी दिइन्। भूकम्पले राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा र भार्गास लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। हजारौं भवनहरू भत्किएका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी छ। स्थानीय स्वयंसेवकहरूले पानी, खाद्यान्न, औषधि र लत्ताकपडा वितरण गरिरहेका छन्। विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि राहत संकलन र स्वयंसेवक परिचालन गरिरहेको जनाएको छ। अमेरिकाले मानवीय सहायता अन्तर्गत दक्षिणी कमाण्डमार्फत सी–१७ ग्लोबमास्टर र सी–१३० हरक्युलिस सैन्य विमान परिचालन गरी राहत सामग्री, उद्धार उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा पठाइरहेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ठूलो जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन राहत तथा समन्वित मानवीय सहायता जारी रहेको बताएका छन्। त्यस्तै फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोँको निर्देशनमा चिकित्सक, उद्धारकर्मी, खोजी कुकुर र भग्नावशेष हटाउने विशेषज्ञसहितको टोली पठाएको छ। यो टोली युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत परिचालित गरिएको हो। स्विट्जरल्यान्डले पनि ८० जना विशेषज्ञ, आठ खोजी कुकुर र करिब १८ टन उद्धार सामग्रीसहित ‘स्विस रेस्क्यु चेन’ टोली काराकासतर्फ पठाएको छ। अन्तर्राष्ट्रिय सहयोग बढ्दै गए पनि अझै हजारौं मानिस बेपत्ता रहेको आशंका गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेष हटाउने र खोजी कार्य निरन्तर जारी राखेका छन्।