काठमाडौँ । इरान र अमेरिकाबीच हुने प्राविधिकस्तरको वार्ता आइतबार स्विट्जरल्यान्डमा हुने तयारी भइरहेका बेला रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरू फेरि अन्तर्राष्ट्रिय चासोको केन्द्रमा परेको छ।
इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिबार होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको बताइएको छ। इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीका अनुसार अमेरिकाले दक्षिणी लेबनानमा हालै भएको शान्ति सम्झौता र युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाइएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानी वार्ता टोली केही समयमै तेहरानबाट स्विट्जरल्यान्ड प्रस्थान गर्ने जानकारी दिएका छन्। त्यहाँ अमेरिकी वार्ताकारहरूसँग प्राविधिक तहको छलफल हुने बताइएको छ।
फार्स समाचार एजेन्सीका अनुसार इरानले लेबनानमा इजरायली आक्रमण रोक्न अमेरिकाले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गर्ने तयारी गरेको छ। यसबीच पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले तेहरानमा इरानी विदेशमन्त्री सैयद अब्बास अरघचीसँग भेटवार्ता गरेका छन्। पाकिस्तान र कतारले अमेरिका–इरान संवादमा मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबारदेखि वार्ता सुरु हुन सक्ने संकेत गर्दै संवाद सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले अमेरिकासँग इरानले होर्मुज जलडमरू बन्द गरेको प्रमाण नरहेको पनि उल्लेख गरेका छन्।
यता, लेबनानमा युद्धविराम लागू भए पनि दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमण र ड्रोन प्रहार जारी रहेको खबर आएको छ। इजरायलले पनि आफ्ना सैनिकमाथि हिजबुल्लाहले ५० भन्दा बढी प्रक्षेपण गरेको दाबी गरेको छ। अमेरिका र इरानबीच भएको १४ बुँदे सहमतिपछि लेबनान–इजरायल युद्धविराम लागू भएको बताइएको छ। उक्त सहमतिमा होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न इरानले सहयोग गर्ने उल्लेख छ। युद्धका कारण यो जलमार्ग प्रभावित हुँदा विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। त्यसैले होर्मुजलाई खुला राख्नु अमेरिका लगायत विश्व शक्तिहरूको प्रमुख प्राथमिकतामध्ये एक मानिएको छ। पाकिस्तानको विदेश मन्त्रालयले आइतबार स्विट्जरल्यान्डको बर्गेनस्टोकमा हुने प्राविधिक वार्तामा अमेरिकी, इरानी, पाकिस्तानी र कतारी प्रतिनिधिहरू सहभागी हुने जनाएको छ।