काठमाडौं । इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम सम्झौता भाँड्ने प्रयासमा लागेको समाचार आएका छन् ।
उनी गत शनिबार भएको उक्त १४ बुँदे सम्झौतालाई कुनै हालतमा प्रभावित पारेर भाँड्ने प्रयास गरिरहेका इजरायली सञ्चारमाध्यमले नै लेखेका छन् ।
टाइम्स अफ इजरायलका अनुसार उनी दक्षिणपन्थी चरित्रका सञ्चारकर्मीहरू र इजरायल समर्थक अमेरिकी सांसदहरूमार्फत् राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब बढाउन खोजिरहेका छन्।
इरानसँगको सम्झौतामा अमेरिकाले इजरायललाई कहीँ कतै ठाउँ दिएको छैन । दुई देशबीचको सम्झौतामा आफ्नो भूमिका नदेखेपछि उनले उक्त हस्ताक्षरलाई विफल बनाउने अभियान चलाएका हुन्।
कम्तीमा ६० दिनका लागि युद्ध रोकेर दुई देशबीच वार्ता सुरु भएपछि नेतन्याहूले मार्क लेभिन जस्ता दक्षिणपन्थी सञ्चारकर्मीहरूको सहारा लिएका छन्।
लेभिनले बुधबार भनेका थिए, ‘यो सम्झौता बुझिनसक्नु छ ।’ उनले इरानका लागि प्रस्तावित पुनर्निर्माण कोषलाई ‘अनियन्त्रित खर्च कोष’ भनेर विरोध गरेका थिए ।
नेतन्याहू ट्रम्पलाई मनाउन इजरायल समर्थक अमेरिकी सिनेटरहरूको सहयोग लिने प्रयास पनि गरिरहेका छन्।