काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको खुलासा गरेका छन् ।
फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटवार्तामा राष्ट्रपति ट्रम्पले उक्त सम्झौताको विवरण “निकै चाँडै” सार्वजनिक गरिने बताएका हुन् ।
“सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको कुरा सुनाउन पाउँदा मलाई निकै खुसी लागेको छ,” ट्रम्पले बैठकका क्रममा भने । अमेरिकी वरिष्ठ अधिकारीहरूका अनुसार आगामी शुक्रबार जेनेभामा यस सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ र सोही दिनदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारका लागि पुनः खुला गरिनेछ।
यस हप्तादेखि इरानको आणविक कार्यक्रममाथि प्राविधिक छलफल सुरु हुने बताइएको छ । सम्झौता अनुसार इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै उसमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गरिने र रोक्का गरिएका सम्पत्ति फुकुवा गरिने अमेरिकी अधिकारीले प्रष्ट पारेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सीएनएनसँग कुरा गर्दै अमेरिका र इरानबीच भएको समझदारी पत्र करिब डेढ पानाको सामान्य दस्ताबेज भएको जानकारी दिए । भान्सका अनुसार सम्झौताको पहिलो बुँदामै इरानले “क्षेत्रीय शान्ति र स्थिरता” प्रति प्रतिबद्ध रहने र आतङ्कवादी संगठनलाई आर्थिक सहयोग रोक्ने उल्लेख छ । “सबैभन्दा महत्त्वपूर्ण कुरा, इरानले आणविक हतियार निर्माण नगर्ने विषय यसमा प्रमाणित हुने गरी प्रतिबद्धता जनाएको छ,” भान्सले भने । बाँकी प्राविधिक र विस्तृत विषयहरू आगामी वार्ताका चरणहरूमा टुङ्ग्याइने उनले बताए ।
यो प्रारम्भिक सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेका छन् ।