काठमाडौँ। चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रस्थित इली नदी उपत्यकामा पशु स्वास्थ्य संरक्षणका लागि सञ्चालन गरिने वार्षिक बाख्रा डुबाउने अभियान सुरु भएको छ।
गर्मी याममा पशुहरूलाई स्वस्थ राख्न तथा विभिन्न परजीवी र रोगबाट जोगाउन बाख्रा तथा अन्य चौपायालाई विशेष प्रक्रियामार्फत पानीमा डुबाउने गरिन्छ। स्थानीय अधिकारीहरूका अनुसार गोङ्लिउ र टेक्स काउन्टीमा हालसम्म ११ लाख ५० हजारभन्दा बढी बाख्रालाई यस अभियानअन्तर्गत नुहाइएको छ। यसले पशुमा लाग्ने परजीवी तथा कीटाणु नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ। चरन क्षेत्रमा पठाउनुअघि बाख्राहरूलाई आवश्यक खोपसमेत लगाइएको छ। किसानहरूका अनुसार यस प्रक्रियाले पशुको स्वास्थ्य सुधार्नुका साथै शरीर सफा राख्न र ऊनको गुणस्तर बढाउन मद्दत गर्छ। इली नदी उपत्यकामा सञ्चालन भइरहेको गर्मीयामीन पशु रोग नियन्त्रण अभियान आगामी जुलाई १० सम्म जारी रहने जनाइएको छ।