काठमाडौं । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभरहरू सवार एउटा निजी विमान आइतबार दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी विमानका पाइलटसहित सबै यात्रुले ज्यान गुमाएका हुन् ।
क्यान्सास सिटीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको बटलर मेमोरियल विमानस्थलनजिकै दुर्घटना भएको हो । उडान भरेको केही समयपछि विमान दुर्घटना भएको जनाइएको छ ।
उक्त विमान स्काईडाइभ क्यान्सास सिटी कम्पनीद्वारा सञ्चालित थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै दुर्घटनामा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार, दुर्घटनामा परेको विमान एक इन्जिनयुक्त ‘प्यासिफिक एरोस्पेस ए ७५०’ थियो । विमानले स्थानीय समयानुसार बिहान ११ः२० बजे उडान भरेको थियो ।
विमानले आवश्यक उचाइ हासिल गर्न सकेको थिएन । त्यसपछि देब्रेतर्फ तीव्र मोड लिँदै धावनमार्गबाट करिब २७४ मिटर टाढा राजमार्गनजिकै खसेको थियो