काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् । ‘सम्झौता भोलि हस्ताक्षर हुने तालिका छ ।
र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् । ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे । उनले उपयुक्त समयमा युरेनियम हटाउन संयुक्त राज्य अमेरिकाले इरानसँग काम गर्ने सुझाव दिए । उनले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताए । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्रिया छिटो, सजिलै र सहज रूपमा अगाडि बढ्नुपर्ने बताए । पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले पनि शनिबार अमेरिका–इरान सम्झौताको इलेक्ट्रोनिक हस्ताक्षर समारोह आइतबार हुने तय गरिएको बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पनि संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको ढाँचामा सहमत भएका छन् र चाँडै नै यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । पाकिस्तानले अमेरिका–इरान शान्ति वार्तामा मध्यस्थता गरिरहेको छ । यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बखाईले आइतबार इरान र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्व अन्त्य गर्न समझदारी पत्र (एमओय)मा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको खबरहरु आएका छन् । बखाईले इरान र संयुक्त राज्य अमेरिकाबीचको कुनै पनि सम्भावित एमओयू वार्ता जारी राख्नको लागि एक रूपरेखाको रूपमा काम गर्ने तर अन्तिम सम्झौता मान्न नसकिने जिकिर गरेका छन् ।