काठमाडौं ।बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन्।शुक्रबारदेखि सम्पर्कविहीन बोहराको खोजीका लागि आइतबार सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनी बडीमालिकास्थित त्रिवेणी पाटननजिक मृत अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।मृतकको खोजीमा खटिएका सुरक्षाकर्मीलाई पनि हेलिकप्टरमार्फत फिर्ता ल्याउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
यसअघि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि उनी शुक्रबारदेखि त्यहाँस्थित धर्मशालामा बसेका थिए।