काठमाडौं ।न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका बङ्गलादेशका तयारी पोसाक उद्योगका मजदुरहरूको प्रदर्शन उग्र बनेको छ।
राजधानी ढाकासहित आसपासका औद्योगिक क्षेत्रमा तोडफोड, सडक अवरोध र आगजनीका घटना भएका छन्।शनिबारदेखि सुरु भएको आन्दोलन आइतबार ढाकाको मीरपुर र गाजीपुरको कोनाबाडीजस्ता औद्योगिक क्षेत्रमा फैलिएको हो। प्रदर्शनकारीहरूले केही कारखाना तथा प्रहरी चौकीमा ढुङ्गामुढा गर्नुका साथै प्रहरीका सवारीसाधनमा समेत आगजनी गरेको विवरण सार्वजनिक भएका छन्।प्रदर्शनका कारण मुख्य सडकहरू अवरुद्ध भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रेनेड प्रहार गरेका छन्। सम्भावित हिंसा नियन्त्रणका लागि प्रहरीसँगै बोर्डर गार्ड बङ्गलादेश बिजिबी का सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।
मासिक ३० हजार टाका पारिश्रमिकको माग
बङ्गलादेशका गार्मेन्ट मजदुरहरूले हाल कायम न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर कम्तीमा ३० हजार टाका पुर्याउनुपर्ने माग गरेका छन्।सरकारले निजामती तथा सरकारी कर्मचारीको तलब र भत्तामा उल्लेख्य वृद्धि गरेपछि आफूहरूको पारिश्रमिक पनि बढाउनुपर्ने माग गर्दै मजदुरहरू आन्दोलनमा उत्रिएका हुन्। सरकारले पारिश्रमिक पुनरावलोकनका लागि नयाँ वेतन बोर्ड गठन गरे पनि तत्काल निर्णय गर्नुपर्ने माग मजदुरहरूले राख्दै आएका छन्।यता उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा पर्याप्त माग नहुनु, तयारी पोसाकको मूल्य नबढ्नु र कच्चा पदार्थ आयात महँगिनुजस्ता कारण देखाउँदै तत्काल पारिश्रमिक वृद्धि गर्न कठिन हुने बताएका छन्।
अर्थतन्त्रको प्रमुख आधार गार्मेन्ट उद्योग
बङ्गलादेशको अर्थतन्त्रमा तयारी पोसाक उद्योगको महत्वपूर्ण योगदान छ। सन् १९७० को दशकको अन्त्यतिर विकास हुन थालेको यो क्षेत्र अहिले देशको प्रमुख निर्यात उद्योगका रूपमा स्थापित भएको छ।उपलब्ध विवरणअनुसार बङ्गलादेशको कुल निर्यातमा गार्मेन्ट क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ। यस उद्योगमा करिब ४० लाख मानिस प्रत्यक्ष रूपमा कार्यरत छन्। तीमध्ये ६० देखि ७० प्रतिशत महिला रहेको बताइन्छ।गार्मेन्ट उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुका साथै महिलाको आर्थिक आत्मनिर्भरता र सामाजिक अवस्थामा सुधार ल्याउन योगदान पुर्याउँदै आएको छ। तर मजदुरको पारिश्रमिक र उद्योगीको लागतसम्बन्धी विवादले अहिले यस क्षेत्रको श्रम सम्बन्ध तनावपूर्ण बनेको छ।