काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँग जिल्लाको विकास र स्थानीय समस्याबारे छलफल गरेका छन्।
अन्तरक्रियामा सहभागीहरूले पूर्वाधार निर्माण, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र उद्योग–व्यवसाय सञ्चालनमा देखिएका चुनौती समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।छलफलका क्रममा गोरखा विकासका दृष्टिले अपेक्षाकृत पछाडि परेको भन्दै सहभागीहरूले जिल्लाको पर्यटकीय सम्भावनालाई उपयोग गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका थिए। सडक, पुललगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर विकासका काम अघि बढाउन उनीहरूले आग्रह गरेका छन्।
कृषि क्षेत्रका समस्याबारे धारणा राख्दै सहभागीहरूले स्थानीय किसानले उत्पादन गरेका वस्तुले बजारमा उचित स्थान र मूल्य नपाएको गुनासो गरेका थिए। नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने र बजारको अभावका कारण किसानले भोग्नुपरेको समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने उनीहरूको माग थियो।त्यस्तै, जिल्लामा उद्योग तथा व्यवसाय सञ्चालन गर्दा देखिने कठिनाइ, लगानीमैत्री वातावरणको अभाव र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको थियो। गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको उपयोग गरी आर्थिक गतिविधि विस्तार गर्न राज्यको भूमिका प्रभावकारी हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सहभागीका प्रश्न, गुनासा र सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको छ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। गोरखाले नै आफूलाई गृहमन्त्री बन्ने अवसर दिएको स्मरण गर्दै उनले जिल्लावासीका अपेक्षा र समस्यालाई गम्भीरतापूर्वक लिने बताएका थिए।यसैबीच, केही साताअघि बूढीगण्डकीमा आएको बाढीले बगाएको पुलको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको विषयमा सहभागीहरूले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए। बाढीका कारण प्रभावित आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
अन्तरक्रियामा सहभागीहरूले गोरखाको विकासका लागि आश्वासनभन्दा परिणाम देखिने काम आवश्यक रहेको बताएका थिए। पूर्वाधार, कृषि, पर्यटन र उद्योग–व्यवसायको विकासमा ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड थियो। गृहमन्त्रीको सचिवालयका अनुसार गुरुङले जिल्लाका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।