काठमाडौं । भारतको असमको जोरहाटमा भारतीय बायुसेनाको एयरबेसमा एएन ३२ मालवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान अवतरणका क्रममा शनिबार बिहान आगलागी भएपछि दुर्घटना घटेको हो ।
विमानले रनवेमा सुरक्षित अवतरण गरेको भएपनि अवतरण लगत्तै विमानबाट आगोको मुस्लो निस्किएको थियो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र भागदौड मच्चिएको थियो ।
घटनाको जानकारी हुनासाथ एयरबेसका दमकल गाडीहरू र द्रुत प्रतिक्रिया टोली घटनास्थलमा पुगेका थिए । आपतकालीन उद्धार टोली तत्काल परिचालन भएपछि धेरै क्षति भने हुन पाएन ।
आगो नियन्त्रणमा लिन तथा विमानमा सवार चालक दल र अन्य कर्मीलाई सुरक्षित रूपमा बाहिर निकाल्न तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो ।
हालसम्म भारतीय वायुसेनाले विमानमा सवार व्यक्तिहरूको अवस्था तथा दुर्घटनाको वास्तविक कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।