काठमाडौँ। भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बन्दै गएको कक्रोच जनता पार्टीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताजस्ता मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा आन्दोलन विस्तार गरेको छ।
पछिल्लो चरणको अभियानअन्तर्गत पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू सहभागी भई प्रदर्शन गरेका छन्। उक्त कार्यक्रमले आन्दोलनलाई थप संगठित र व्यापक बनाएको बताइएको छ। सिजेपीले यसअघि नयाँदिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरिसकेको थियो। पछिल्लो र्याली सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा आयोजना गरिएको हो, जहाँ सहभागीहरूले सार्वजनिक परीक्षामा देखिएका अनियमितता, प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रको व्यवस्थापकीय कमजोरीको विरोध गरेका थिए। आन्दोलनका अगुवाहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आगामी दिनमा देशका अन्य सहरहरूमा पनि प्रदर्शन विस्तार गरिने चेतावनी दिएका छन्। अभियानका एक अगुवा अभिजीत डिप्केले पुणेमा भएको कार्यक्रमलाई आन्दोलनको प्रारम्भिक चरण मात्र भएको बताउँदै आगामी दिनमा देशव्यापी रूपमा दबाब सिर्जना गरिने बताएका छन्।
यो आन्दोलनको सुरुआत सर्वोच्च अदालतका एक न्यायाधीशको बेरोजगार युवाप्रति गरिएको ‘कक्रोच’ टिप्पणीपछि भएको हो। उक्त अभिव्यक्तिलाई आन्दोलनकारीहरूले अपमानका रूपमा नभई संघर्षशील युवाको प्रतीकका रूपमा आत्मसात् गर्दै आफ्नो पहिचान बनाएका छन्। सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको यो आन्दोलन इन्स्टाग्रामलगायत प्लेटफर्ममा लाखौँ समर्थकसम्म पुगिसकेको छ। बेरोजगारी, बढ्दो जीवनयापन खर्च, भ्रष्टाचार र सरकारी बेवास्ताविरुद्धको असन्तुष्टि यस आन्दोलनको मुख्य आधार बनेको बताइन्छ। विश्लेषकहरूका अनुसार पुणेबाट सुरु भएको पछिल्लो अभियानले भारतका युवाबीच रहेको असन्तोषलाई संगठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ, जसले आगामी दिनमा अझ ठूलो रूप लिन सक्ने सम्भावना देखिएको छ।