काठमाडौँ । बेलायतका प्रधानमन्त्रीले प्रयोग गर्ने सरकारी सवारीसाधनमा चीनसँग जोडिएको ट्रयाकिङ उपकरण फेला परेको दाबी सार्वजनिक भएपछि सुरक्षा सम्बन्धी चासो फेरि एकपटक चर्चामा आएको छ। उक्त उपकरण सन् २०२२ मा भेटिएको र त्यसले चीनतर्फ सूचना पठाउने क्षमता राखेको दाबी गरिएको छ।
बेलायती संसद्को व्यवसाय तथा व्यापार समितिमा भएको सुनुवाइका क्रममा भू–राजनीतिक थिंक ट्यांक काउन्सिल अन जियोस्ट्राटेजीका वरिष्ठ अनुसन्धानकर्ता तथा पूर्व कूटनीतिज्ञ चार्ल्स पार्टनले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार प्रधानमन्त्रीको सवारीसाधनमा जडान गरिएको सेलुलर मोड्युलमार्फत डाटा बाह्य सञ्जालमा पठाइँदै रहेको सूचना आफूले सरकारी स्रोतबाट पाएका थिए। पार्टनले उक्त मोड्युल चीनबाट आयात गरिएको गाडीको बन्द संरचनाभित्र जडान गरिएको दाबी गरे। मोबाइल नेटवर्कसँग जोडिन सक्ने क्षमतायुक्त यस उपकरणले अन्य प्रणालीसँग समेत सम्पर्क राख्न सक्ने उनले बताएका छन्। सन् २०२२ मा बेलायतमा बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनाक प्रधानमन्त्री बनेका थिए।
तर विवादित उपकरण कुन प्रधानमन्त्रीको सवारीसाधनमा भेटिएको थियो भन्ने जानकारी सार्वजनिक गरिएको छैन। यो विषय पहिलोपटक सन् २०२३ मा सञ्चारमाध्यममार्फत बाहिर आएको थियो। त्यसबेला पनि चिनियाँ प्रविधिमार्फत बेलायती उच्च अधिकारीहरूमाथि निगरानी हुनसक्ने आशंका व्यक्त गरिएको थियो। हालको खुलासाले उक्त घटनाको समयरेखा अझ स्पष्ट बनाएको छ। सुनुवाइका क्रममा पार्टनले चीनले विश्वव्यापी रूपमा सेलुलर मोड्युल उत्पादन र आपूर्तिमा प्रभाव विस्तार गरिरहेको दाबी गरे। उनका अनुसार यस्ता मोड्युलहरू गाडी, विमान, स्मार्ट गृह उपकरणलगायत विभिन्न प्रविधिमा प्रयोग हुने भएकाले सुरक्षा जोखिमलाई बेवास्ता गर्न नहुने अवस्था रहेको छ।
ट्रयाकिङ उपकरणबारे दाबी: स्थानीय मिडियाका अनुसार उक्त उपकरण चीनबाट आयात गरिएको सवारीसाधनको सिलबन्दी गरिएको भागभित्र लुकाइएको थियो र गाडी निर्माता कम्पनीले जडान गरेको थियो। सरकारी सुरक्षा अधिकारीहरूले मन्त्री तथा कूटनीतिज्ञहरूले प्रयोग गर्ने सवारीसाधनहरूको जाँचका क्रममा यसलाई पत्ता लगाएको बताइएको छ। पार्टनले चीनले सेलुलर मोड्युल उत्पादनमा विश्वव्यापी प्रभुत्व जमाउने प्रयास गरिरहेको बताएका छन्। उनका अनुसार यस्ता मोड्युलहरू अहिले कार, विमानदेखि स्मार्ट डोरबेलसम्म प्रयोग भइरहेका छन्। उनले चेतावनी दिँदै भने, यदि चीनले यस्तो प्रविधिमा नियन्त्रण जमायो भने, सवारीसाधनलगायत प्रणालीमा प्रभाव पार्न सक्ने अवस्था आउन सक्छ।
सरकारी प्रतिक्रिया अस्पष्ट: बेलायती अधिकारीहरूले यस दाबीबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। एक सरकारी स्रोतले डेली मेल लाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीको गाडीमा चिनियाँ ट्र्याकिङ उपकरण भेटिएको भन्ने दाबीलाई उनीहरूले पुष्टि गर्न नसकेको बताएका छन्। मेट्रोपोलिटन प्रहरीले पनि यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ। प्रधानमन्त्रीको सुरक्षा र सरकारी सवारीसाधनको व्यवस्थापनसम्बन्धी संवेदनशील विषय भएकाले प्रहरीले प्रतिक्रिया दिन नमानेको हो। यता चीनले भने यी सबै आरोपहरू अस्वीकार गर्दै आएको छ। बेइजिङले यसअघि पनि यस्ता दाबीहरूलाई “आधारहीन अफवाह” भन्दै खारेज गरेको थियो र चिनियाँ कम्पनीहरूलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएको छ।