काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामा आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा गरेको कारबाहीपछि मध्यपूर्वमा तनाव थप बढेको छ।
इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकी एफ–३५ लडाकु विमान राखिएका ह्याङ्गरहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ। साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण गरिएको उल्लेख गरिएको छ। त्यसैगरी, बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालयमा ड्रोन आक्रमण गरिएको आईआरजीसीले जनाएको छ। उक्त आक्रमण दक्षिणी इरानमा अमेरिकाले गरेको कारबाहीको प्रतिक्रियास्वरूप गरिएको दाबी गरिएको हो। यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमहरूले स्थानीय स्रोतलाई उद्धृत गर्दै कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा पनि पुनः आक्रमण गरिएको बताएका छन्। तर यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। यसअघि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले हर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनापछि इरानविरुद्ध ‘रक्षात्मक सैन्य कारबाही’ सुरु गरिएको जनाएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त हेलिकोप्टर इरानी आक्रमणका कारण खसेको दाबी गर्दै आवश्यक जवाफ दिइने बताएका थिए। हेलिकोप्टरमा रहेका दुवै चालक सुरक्षित रहेको जनाइएको छ। उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई फारसी खाडी क्षेत्रबाट बाहिरिन चेतावनी दिएका छन्। उनले इरानमाथि हुने कुनै पनि आक्रमण वा धम्कीको कडा प्रतिकार गरिने र देशका सशस्त्र बल पूर्ण रूपमा तयार रहेको बताएका छन्। इरान र अमेरिकाबीच बढ्दो प्रत्यक्ष सैन्य तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ। इजरायल–इरान द्वन्द्वसँगै विकसित पछिल्ला घटनाक्रमले सम्पूर्ण क्षेत्रलाई थप सुरक्षा संकटतर्फ धकेल्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।