काठमाडौँ। अमेरिकी सैन्य आक्रमणपछि इरानले कुनै पनि प्रकारको हमला वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्च सतर्कता र युद्ध तयारीमा रहेको जनाउँदै अमेरिका तथा उसका सहयोगीहरूलाई क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अराघचीले इरानको सुरक्षा र सार्वभौमिकतामाथि हुने कुनै पनि आक्रमणलाई जवाफविहीन नछोडिने बताएका छन्। उनले मध्यपूर्वमा स्थायित्व चाहने शक्तिहरूलाई क्षेत्रीय तनाव बढाउने गतिविधिबाट टाढा रहन पनि आग्रह गरेका छन्। इरानको यो प्रतिक्रिया अमेरिकी केन्द्रीय कमाण्ड ९सेन्टकम० ले इरानका केही सैन्य संरचनामाथि ‘रक्षात्मक कारबाही’ गरेको जानकारी सार्वजनिक गरेपछि आएको हो। अमेरिकी पक्षका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको उक्त कारबाही अमेरिकी अपाचे हेलिकोप्टरमाथि भएको आक्रमणको प्रत्युत्तरस्वरूप सञ्चालन गरिएको थियो। अमेरिकी अधिकारीहरूले हर्मुज जलडमरूमध्य आसपास रहेका इरानी हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। सेन्टकमका अनुसार अमेरिकी समयअनुसार साँझ ५ बजे सुरु भएको सैन्य अभियान बुधबार सम्पन्न भएको हो। यसअघि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले देशका सुरक्षा निकायलाई उच्चतम तयारी अवस्थामा राखिएको जानकारी दिएका थिए। उनले क्षतिग्रस्त संरचनाको मर्मतसमेत सम्पन्न भइसकेको र कुनै पनि सम्भावित आक्रमणको जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका थिए।
इरानको रक्षा मन्त्रालयले पनि राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्डताको संरक्षणका लागि सैन्य सामग्री, हतियार तथा रक्षा प्रणालीको उत्पादनलाई थप विस्तार गरिने जनाएको छ। मन्त्रालयले देशको प्रतिरक्षा क्षमता अझ बलियो बनाइने र शत्रुलाई कुनै पनि प्रकारको क्षति पुर्याउने अवसर नदिइने स्पष्ट पारेको छ। यसैबीच बुधबार बिहान दक्षिणी इरानको होर्मोजगान प्रान्तअन्तर्गत सिरिक बन्दरगाह र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उता इराकमा सक्रिय एक मिलिसिया समूहले इरानी ड्रोनहरूले इराकी आकाशमार्ग प्रयोग गर्दै अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ। तर उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। यता इजरायली सेनाका प्रमुख एयाल जमिरले पनि इजरायली सेना जुनसुकै बेला इरानविरुद्ध थप सैन्य कारबाही गर्न तयार रहेको बताएका छन्। उनका अनुसार इजरायलका सबै प्रतिरक्षा तथा आक्रमण प्रणाली उच्च सतर्कताको अवस्थामा राखिएका छन्।