काठमाडौँ । इरानसँगको द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै ओपेक प्लसका सदस्य राष्ट्रहरूले आइतबारको बैठकमा तेल उत्पादन बढाउने विषयमा छलफल गर्ने भएका छन्।
बजार विश्लेषकहरूका अनुसार संगठनले दैनिक करिब १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन वृद्धि गर्ने निर्णय गर्न सक्छ। यद्यपि उत्पादन क्षमता सीमित भएकाले साउदी अरेबिया, रूस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत केही देशहरूले मात्र अतिरिक्त उत्पादन गर्न सक्ने अवस्था रहेको बताइएको छ। अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज क्षेत्रमा अवरोध सिर्जना भएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले यसको प्रभाव विश्व ऊर्जा बजारमा प्रत्यक्ष देखिएको छ।
आपूर्तिमा आएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ भने त्यसको असर विभिन्न देशको मुद्रास्फीतिमा समेत पर्न थालेको छ। विशेषज्ञहरूका अनुसार ओपेक प्लसले उत्पादन बढाउने निर्णय गरे पनि त्यसले बजारमा तत्काल ठूलो प्रभाव पार्ने सम्भावना कम छ। विश्लेषकहरूको भनाइमा उत्पादन वृद्धि सीमित भएकाले मूल्य नियन्त्रणमा चुनौती कायम रहने देखिएको छ। ऊर्जा बजारमा बढ्दो अनिश्चितताबीच ओपेक प्लसको भूमिका अझै महत्वपूर्ण रहे पनि विगतको तुलनामा यसको बजार नियन्त्रण क्षमता कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।