काठमाडौं । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट राजीनामा दिन सात दिनको अल्टिमेटम दिएको छ।
पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि प्रधानलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। शनिबार दिल्लीस्थित जन्तरमन्तरमा आयोजित विरोध प्रदर्शनका क्रममा सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारमाथि दबाब बढाउँदै शिक्षामन्त्री प्रधानलाई पद छाड्न चेतावनी दिएका हुन्।
प्रदर्शनपछि पार्टीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा रांकाले शनिबारको कार्यक्रम केवल सुरुआती चरण मात्र भएको बताएका छन्।
उनले सरकारलाई सात दिनको समय दिइएको उल्लेख गर्दै शिक्षामन्त्रीले स्वेच्छाले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्री मोदीले उनलाई पदमुक्त गर्नुपर्ने माग दोहोर्याए।
सीजेपीले शिक्षामन्त्री प्रधानविरुद्ध किन आन्दोलन थालेको हो भन्ने विषयमा विस्तृत धारणा सार्वजनिक नगरे पनि विरोध प्रदर्शनमार्फत सरकारको शिक्षा नीतिप्रति असन्तुष्टि व्यक्त गरेको जनाएको छ।