वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार सम्झौता (ट्रेड डिल) सम्बन्धी वार्ता छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना असल मित्र रहेको बताउँदै दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक रहेको उल्लेख गरे।
‘हामी व्यापार सम्झौतामा पुग्नेछौँ भन्ने मेरो विश्वास छ। मलाई प्रधानमन्त्री मोदी निकै मन पर्छ। उनी मेरा असल मित्र हुनुहुन्छ र हामीबीच राम्रो सम्बन्ध छ,’ ट्रम्पले भने।
यद्यपि, ट्रम्पले भारतले विगतमा अमेरिकामाथि उच्च भन्सार शुल्क (ट्यारिफ) लगाएको आरोप पुनः दोहोर्याए। उनले वर्षौंसम्म भारतले अमेरिकाको फाइदा उठाएको दाबी गर्दै भारतले अमेरिकी वस्तुहरूमा उच्च कर लगाए पनि अमेरिकाले त्यसको प्रतिफल नपाएको बताए।
‘वर्षौंसम्म भारतले अमेरिकाको फाइदा उठायो। उनीहरूले हामीमाथि अत्यधिक ट्यारिफ लगाए तर बदला स्वरूप हामीले केही पाएनौँ। अहिले अवस्था परिवर्तन भएको छ र हामी भारतसँगको व्यापारबाट उल्लेख्य आम्दानी गरिरहेका छौँ,’ ट्रम्पले भने।
भारत र अमेरिकाबीच व्यापार सम्झौताबारे लामो समयदेखि वार्ता जारी रहे पनि हालसम्म कुनै औपचारिक घोषणा भएको छैन। दुवै देशबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भइरहेको छ।