काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि हुने सम्भावित आक्रमणमा सैनिकको ज्यान गए इरानप्रति अपनाइएको नरम नीति पुनर्विचार गर्न सकिने संकेत दिएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले त्यस्तो घटनामा इरान जिम्मेवार देखिए कूटनीतिक र सैन्य रणनीतिमा परिवर्तन हुन सक्ने बताएका हुन्।अधिकारीहरूले जनाएअनुसार क्षेत्रीय तनाव र छिटपुट हिंसात्मक घटनाहरू जारी रहे पनि हाल लागू गरिएको हवाई आक्रमणसम्बन्धी अस्थायी विराम यथावत् रहेको छ। यसबाट अमेरिका तत्काल व्यापक सैन्य कारबाहीमा जाने पक्षमा नरहेको, तर परिस्थितिअनुसार आफ्नो निर्णय परिवर्तन गर्न सक्ने सन्देश दिएको विश्लेषण गरिएको छ।
समाचार स्रोतहरूका अनुसार ट्रम्प प्रशासनले इरानसँग प्रत्यक्ष ठूलो युद्धमा संलग्न हुन नचाहे पनि सीमित स्तरका उक्साहटपूर्ण घटनाप्रति केही समय संयम अपनाउन सक्ने संकेत गरेको छ। यसले पश्चिम एसियामा व्यापक द्वन्द्वको जोखिम कम गर्ने दिशामा वासिङ्टनको ध्यान केन्द्रित रहेको देखिन्छ। यता अमेरिका र इरानबीच जारी कूटनीतिक संवाद पनि सहज रूपमा अघि बढ्न सकेको छैन। तेहरानले रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सारेपछि वार्तामा गम्भीर अवरोध उत्पन्न भएको बताइएको छ।