काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीले घटनाको पुष्टि गर्दै मालवीय नगरस्थित भोजनालय (रेस्टुरेन्ट) सहितको उक्त होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको जनाएको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार मृतकमध्ये अधिकांश विदेशी नागरिक रहेका छन्। आगलागी भएको क्षेत्र साकेतस्थित म्याक्स अस्पताल नजिकै रहेकाले उनीहरू उपचारका लागि भारत आएका र सोही होटलमा बसेका हुन सक्ने अनुमान गरिएको छ।
घटनापछि उक्त होटल सञ्चालनमा सुरक्षा मापदण्ड उल्लंघन र गम्भीर अनियमितता भएको तथ्य बाहिर आएको छ। दिल्ली सरकारको ‘बेड एन्ड ब्रेकफास्ट’ योजनाअन्तर्गत उक्त होटललाई केवल ६ वटा कोठा सञ्चालन गर्ने अनुमति दिइएको थियो।
तर, होटल सञ्चालकले अवैध रूपमा २५ वटा कोठा निर्माण गरेर चलाइरहेको पाइएको छ। होटलका केही कोठाहरू त भुइँतलामुनि (अन्डरग्राउन्ड) समेत निर्माण गरिएका थिए, जसका कारण आगलागी हुँदा मानिसहरूलाई बाहिर निस्कन कठिन भएको र क्षति बढेको बताइएको छ।
साकेतस्थित म्याक्स अस्पताल नजिकैको क्षेत्र भएकाले सो ठाउँमा उपचारका लागि आउने विदेशी नागरिकहरूलाई लक्षित गरी धेरै होटल तथा भोजनालयहरू सञ्चालनमा छन्। राष्ट्रमण्डल खेलकुद (ऋयmmयलधभबतिज न्बmभक) का बेला सरकारको विशेष योजनाअन्तर्गत यस क्षेत्रमा १५ वटा होटललाई अनुमति दिइएको थियो। आगलागी भएको होटलमा पनि उपचारका लागि आएका धेरै विदेशी पर्यटक तथा बिरामीका आफन्तहरू बसिरहेका थिए।
आगलागी सुरु भएलगत्तै नियन्त्रणका लागि पहिलो चरणमा सात वटा दमकल परिचालन गरिएको थियो भने पछि थप टोलीहरू खटाइएका थिए। उद्धारकर्मीहरूले अग्नि नियन्त्रणसँगै भवन भित्र फसेका ३७ जनालाई सकुशल बाहिर निकाल्न सफल भएका छन्।
प्रहरी र उद्धार टोलीले भवनको सम्पूर्ण भागमा सर्च अपरेसन (खोजी कार्य) सम्पन्न गरिसकेका छन्। दिल्ली प्रहरीले आगलागीको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको छ। साथै, नियम उल्लंघन गरी अवैध कोठा चलाउने र सुरक्षामा लापरवाही गर्ने होटल सम्बद्ध व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गरिने अधिकारीहरूले जनाएका छन्।